काठमाडौं । ब्युटी प्याजेन्टको नाममा बालिका बलात्कार गरेको आरोपमा पक्राउ परेका मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डेलाई ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
जिल्ला अदालत, काठमाडौंले उनलाई हिरासतमा राखेर मानवबेचबिखन तथा ओसारपसार र बालबालिकाविरुद्धको कसूरमा अनुसन्धानका लागि अनुमति दिएको हो । शनिबार दिउँसो काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले बलात्कार गरेको आरोपमा पाण्डेलाई स्वयम्भूबाट पक्राउ गरेको थियो ।
पाण्डेमाथि आठ वर्षअघि मिस ग्लोबल इन्टरनेसनलमा भाग लिएकी १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप छ। उनले सन् २०१४ मा मिस ग्लोबल इन्टरनेशनल नामक प्रतियोगिताका आयोजना गरेका थिए । जसमा भाग लिएकी एक युवतीमाथि आयोजक पाण्डेले नशालु पदार्थ पिलाएर बलात्कार गरेको आरोप छ ।
पीडित युवतीले सामाजिक सञ्जालमा सौन्दर्य प्रतियोगिताका आयोजकबाट भएको बलात्कारको घटनाबारे खुलासा गरेकी थिइन् ।