काठमाडौं । सरकारले सशस्त्र प्रहरीको महानिरीक्षक (आईजीपी) राजु अर्याललाई बनाउने निर्णय गरेको छ । बालुवाटारमा मन्त्रिपरिषद्को आजको बैठकले एआईजी अर्याललाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको हो ।
गत मंगलबारको मन्त्रिरिषद् बैठकले एआइजीमा बढुवा गरेसँगै उनी सशस्त्र प्रहरीमा आइजिपीका एक्ला दाबेदार भएका थिए। गत चैत ३० गते पुष्पराम केसी आइजिपीमा नियुक्त भएका थिए। तर, तीस वर्षे कार्यकालको अवधिका कारण उनले आइतबारदेखि अनिवार्य अवकाश पाउँदैछन्।
सशस्त्र प्रहरी बलको नियमावलीअनुसार सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकलाई मात्र महानिरीक्षकमा बढुवा गर्न सक्ने प्रावधान छ । २०५४ सालमा नेपाल प्रहरीको प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका उनी सशस्त्र प्रहरीको स्थापनासँगै त्यतातिर लागेका थिए । अर्याल राम्रो सम्पर्क भएका कमाण्डरको रुपमा चिनिन्छन् ।