काठमाडौँ । विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस एडहानोम गेहब्रेयसस बिहीबार दिउँसो काठमाडौं आइपुगेका छन् । तीन दिने भ्रमणका लागि महानिर्देशक डा. टेड्रोस भारत हुँदै नेपाल आएका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरकारी अधिकारीहरुले स्वागत गरेका थिए ।
नेपाल भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, परराष्ट्रमन्त्री डा नारायण खड्का र स्वास्थ्यमन्त्री विरोध खतिवडालगायतसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।
उनको नेपाल भ्रमणका क्रममा कोरोना भाइरसको महामारीबाट नेपालले भोग्नुपरेको समस्या, नेपालका जनस्वास्थ्य क्षेत्रका चुनौती लगायतका विषय उठान गर्ने बताइएकाे छ । उनले टाइफोइड रोगविरुद्धको खोप अभियानको पनि अवलोकन गर्नेछन् ।
डा. टेड्रोसकाे नेपाल भ्रमण टोलीमा डब्लुएचओको दक्षिण पूर्व एसिया क्षेत्रीय कार्यालयका निर्देशक डा पूनम क्षेत्रपाल सिंह र डब्लुएचओका अन्य पदाधिकारीहरु पनि सहभागी हुनेछन् ।
कोरोना महामारीको समयमा डब्ल्यूएचओले नेपाललाई कोभ्याक्स र गाभीमार्फत खोपहरू उपलब्ध गराउन सहयोग गरेको थियो । त्यस्तै कोरोना महामारीसँग लड्न विश्व समुदायलाई समेत नेपालमा सहयोग गर्न अनुरोध गरेको थियो ।