पुरानो नेपाली उखान ‘बाघको छालामा स्यालको रजाइँ’ आज पनि उत्तिकै सार्न्दभिक छ । एउटाको सम्पत्तिमा अर्काको मोजमस्ती भन्ने आशयमा प्रचलित यो उखान कस्तो बेला चरितार्थ हुन्छ भने जब लोभी, अल्छी र अवसरवादीको ठेलमठेलले धकेलेर कर्मशीलहरू पाखा लाग्छन् । त्यस्ता अवसरवादीहरू सधैँ अर्काकै सम्पत्तिमा रमाउन खोज्छन् । अहिले नेपाली राजनीतिको सन्दर्भमा यो उखान अझ बढी अर्थपूर्ण भएको देखिन्छ । नेकपा माओवादी केन्द्रले उठाएका मुख्य मुद्दाले नेपाली समाजलाई तरंगित मात्रै बनाएन, परिवर्तनको बाहक सिद्धान्तका रूपमा स्थापित पनि भयो– माओवाद । पछिल्लो समय उपलब्धिका रूपमा स्थापित संघीयता, गणतन्त्र, धर्म निरपेक्षता, समानुपातिक समावेशी प्रतिनिधित्व र राज्यको पुनर्संरचनाजस्ता एजेन्डाहरू दस वर्षे लामो जनयुद्धले मागेको संविधानसभाबाट निर्मित संविधानकै बाटो भएर वैधानिक भएका हुन् । संविधानमा रहेका प्रावधान अझै अपुग रहेको आवाज उठिरहेकै छ । तथापि, जति उपलब्धि छन्, तिनले आवाजविहीनहरूका लागि आवाज बनेर बुलन्द भइरहेकोे सत्य कसैबाट छिपेको छैन । जातीय, क्षेत्रीय, लैँगिक र धार्मिक विभेदहरूलाई यस संविधानले अन्त्य गर्ने प्रयास गरेको कुरा प्रत्याभूत हुन्छ ।
वर्तमान संविधान पूर्ण वैज्ञानिक र क्रान्तिकारी त छैन । तैपनि, यसलाई अग्रगामी प्रकृतिको चाहिँ पक्कै मान्न सकिन्छ । तर, त्यही मुद्दाका लागि ज्यानको बाजी थापेर युद्धमा होमिएको माओवादी पंक्ति भने अहिले राज्यसत्ताको साझेदार भए पनि सम्पूर्णतः आफ्नो एजेन्डा लागू गर्ने निर्णायक स्थानमा देखिँदैन । सबैभन्दा विडम्बनाको दृश्य यो छ कि हिजो क्रान्तिकारी मुद्दाहरूका विरोधी र आन्दोलनको दमनकर्ताहरूकै हातमा आज राज्यसत्ताको बागडोर पुगेको छ । माओवादीले लडेर ल्याएको परिवर्तनको फलमा हिजोका जनविरोधीहरूको आज रजगज चल्नु भनेको बाघको छालामा स्यालको रजाइँ हुनु नै हो । यो खाले विरोधाभासपूर्ण परिवेशको अन्त्य गर्ने सही निकाय भनेको फेरि पनि जनता नै हो । हाम्रो जस्तो व्यवस्था र प्रणालीमा जनताको परीक्षा आवद्यिक निर्वाचनले गर्दछ । यस अर्थमा अब जनताको विवेक–परीक्षणको घडी आएको छ ।
दसवर्षे जनयुद्ध र माओवादी आन्दोलन
नेकपा माओवादीको दसवर्षे जनयुद्ध केही कमजोरीका बावजुद ऐतिहासिक महत्वसहितको एउटा जीवन्त आन्दोलन थियो । ४० बुँदे मागसहित भूमिगत युद्धमा सामेल भएको माओवादी पार्टीले जनतामा रहेको चेतनालाई अर्को उचाइमा मात्रै पु-याएन, विश्व कम्युनिस्ट आन्दोलनलाई नै एउटा अनुकरणीय उदाहरण प्रस्तुत ग-यो । माओवादी आन्दोलनले हिन्दु अतिवाद, वर्णव्यवस्था, सामन्तवाद, निरंकुश राजतन्त्र र सामन्ती संरचनाहरू ठूलो धक्का दिँदै ढाल्यो । त्यस्तैगरी दादागिरी, अराजकता र सामन्तहरूको हालीमुहालीलाई स्वीकार्ने प्रवृत्ति र परम्पराको कुचक्रलाई आन्दोलनले भत्काइदियो । यसको ठाउँमा प्रश्नसहित विरोध गर्ने र विचार प्रस्तुत गर्ने अधिकारको सुनिश्चितता कायम ग-यो । अन्तर्राष्ट्रिय रूपमै उदाहरणीय प्रतिरोध आन्दोलनका रूपमा स्थापित माओवादी जनयुद्धले ल्याएका उपलब्धिमाथि अहिले अरुले नै रजाइँ गरिरहेका छन्, जसलाई ‘काम गर्ने कालु, मकै खाने भालु’ भन्न सकिन्छ । यसरी आन्दोलन विरोधीहरूले नै आन्दोलनको प्रतिफलमा तर मार्नु भनेको फेरि पनि ‘बाघको छालामा स्यालको रजाइँ’ नै हो । यो प्रवृत्ति प्राकृतिक न्यायको सिद्धान्तविपरीत छ ।
राज्य सत्ता/शासन सत्ताको अवस्था
माओवादी क्रान्तिको रगत, पसिना र आहुतिको गर्भबाट अहिलेको लोकतान्त्रिक गणतन्त्र जन्मिएको हो । तर, गणतन्त्र नेपालको प्रथम राष्ट्रपतिचाहिँ हिजोको संवैधानिक राजतन्त्रका पक्षधर नेपाली कांग्रेसका रामवरण यादव बने । त्यसैगरी वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले पनि गणतन्त्रविरोधी ‘वयलगाडे’ उखानका प्रतिपादक खड्गप्रसाद ओलीकै मतियारका रूपमा आफूलाई थप पुष्टि गर्दै गइन् । संघीय गणतान्त्रिक राज्य–सत्ताको बागडोर पटक–पटक संघीयता, गणतन्त्र, समावेशिता र धर्मनिरपेक्षताविरोधी ओली र शेरबहादुर देउवाजस्ता नेताहरूको हातमा पुगेको छ । ०६२/०६३ को संयुक्त जनआन्दोलनताका खड्गप्रसाद ओली गणतन्त्रको सपनालाई वयलगाडीको अमेरिका यात्रासँग तुलना गरेर जनतालाई हियाउँदै थिए । उनी जनतामाथि राज्यले गोली ठोक्दै गरेको भिडियो टिभीमा हेरेर रसास्वादन गर्दै भुटेको काजु खाँदै थिए । हालका प्रधानमन्त्री शेरबहादुर देउवा पनि क्रान्तिकारी नेताहरूको टाउकोको मूल्य तोक्दै किलोसेरा टु अपरेसनमाथि चियर्स गर्दै थिए ।
तिनै प्रवृत्ति र पात्रकोे हातमा गणतान्त्रिक शासन सत्ता पुगेकै कारण परिवर्तनलाई सही तरिकाले संस्थागत गर्न कठिन भएको हो । जबसम्म दलाल, नोकरशाही पुँजीवादी कर्मचारीतन्त्र र नवधनाढ्यहरू राज्य सत्तामा ढलीमली गरिरहन्छन्, तबसम्म उत्पीडित वर्ग र भुइँमान्छेहरूको अस्तित्व र भलाइ हुन असम्भवप्रायः देखिन्छ ।
अवसरवादी चरित्र र माओवादीको कमजोरी
शान्ति सम्झौता र संयुक्त जनआन्दोलन पवित्र उद्देश्यका साथ गरिएको भए पनि त्यसपछिका घटनाक्रमहरूमा अनेकौँ अवसरवादी चरित्रहरू माओवादी पार्टीभित्र मौलाउन थाल्यो । परिणाम– वैज्ञानिक आदर्श र विचारहरू धरासायी हुँदै पाखा पारिए । माओवादी पार्टीइतरको विचारधारा त पहिल्यैदेखि स्खलित थियो नै । क्रान्तिकारी माओवादीभित्र समेत जनयुद्धको मूल उद्देश्यलाई बिर्सेर व्यक्तिगत स्वार्थमा तल्लीन हुनेको संख्या बढ्यो । पार्टीमा यस्तो प्रवृत्ति देखा प-यो कि पटक–पटक अवसर उपयोग गर्नेहरूले नै अरु एकाध अवसर नपाउँदा पार्टीलाई गद्दार करार गर्दै भाग्नेहरूको जमात देखा प-यो । टोपबहादुर रायमाझी, रामबहादुर थापा, लेखराज भट्ट, प्रभु शाहजस्ता पात्र र प्रवृत्तिले लाजै नमानीकन जनयुद्धलाई बेठीक देखाउन अग्रसर भए । हुँदाहुँदा, गणतन्त्र नै एमालेले ल्याएको भन्नसमेत पछि परेनन् । पछिल्लो समय बहुचर्चित एमसीसीको सन्दर्भमा राष्ट्रघाती बुँदा हटाएर व्याख्यात्मक टिप्पणीपछि मात्रै समर्थन ग-यो, माओवादीले । तर, एमाले विनापरिमार्जन पास गर्न कटिबद्ध थियो । यही प्रकरणमा पनि गैरतार्किक ढंगले माओवादीलाई गाली गर्दै एमाले प्रवेश गर्ने तुच्छ प्रवृत्ति पनि देखा प-यो । यो पाखण्डभन्दा बढी अरु केही थिएन ।
यसरी माओवादी आन्दोलनभित्र यस्ता हास्यापद र अवसरवादी मतिभ्रष्टहरूको नयाँ नयाँ अनुहारहरू देखा पर्दै गएका छन् । मोहन वैद्य, बाबुराम भट्टराई, विप्लव, गोपाल किराँती लोकेन्द्र विष्टजस्ता हस्तीहरू भागेपछि पार्टीमा अनेक अवसरवादीहरू जन्मन थालेका छन् । पार्टीबाट भागेकाहरूले पनि अहिलेसम्म पार्टी विभाजनको औचित्य पुष्टि गर्न सकेका छैनन्, न त नयाँ पार्टीलाई माओवादी आन्दोलनमा समाहित गर्न सके । बाबुराम भटराईलाई हिजो प्रचण्डपछि दोस्रो नम्बरमा बस्न अप्ठ्यारो लाग्यो । तर, उनलाई अहिले उपेन्द्र यादवको कार्यकर्ता बन्न मज्जा आयो । विप्लवलाई प्रचण्डभन्दा ओली ठीक लाग्न थाल्यो । यस्ता पात्र र प्रवृत्ति बेला–बेला इतिहासमा जन्मिने गर्छन् । तर माओवादीले यस्ता पात्र र प्रवृत्तिलाई बेलैमा चिन्न र चिर्न नसक्नु एउटा कमजोरी हो भने अर्को मुख्य कमजोरी हो– आफ्नो आन्दोलनले स्थापित गरेको मुद्दा र उत्पीडित वर्ग, जाति र समुदायको पक्षमा लडेको इतिहासलाई भुइँमान्छसम्म पु-याएर बुझाउन नसक्नु । ओलीजस्ता कुपात्रहरूले जनयुद्धलाई भ्रष्टीकरण गर्दै गर्दा माओवादीले त्यसको प्रतिवाद गर्न नसक्नु अर्को कमजोरी हो । जनयुद्ध नै एउटा यस्तो हतियार होे, जसले मान्छेले मान्छेलाई मान्छे नठान्ने प्रवृत्तिलाई परास्त ग-यो । र, पछाडि पारिएकाहरूको आवाज बुलन्द ग-यो पनि । यही कुरा दमदार शैलीमा पार्टीले दस्तावेजीकरण गर्न सकेन । त्यस सत्यलाई टेवा दिने गरी साहित्य, संगीत र संस्कृतिको माध्यमबाट अभिलेखीकरण गरिएको भए आज जनतामाझ माओवादी पार्टी यस ढंगले कमजोर देखिनु पर्दैनथ्यो । यही कमजोरीका कारण केही जत्थाले अझै पनि ओलीलाई ‘राजनेता’ को पगरी लगाउने जस्तो निर्लज्ज काम गरिरहेका छन्, जुन विडम्बनापूर्ण छ ।
उत्पीडित वर्गलाई सुझाव र आग्रह
अहिले केही मात्रामा स्खलितजस्तो देखिए पनि हरेक हिसावले उत्पीडित र पछाडि पारिएकाहरूको आवाज उठाउने, दमनविरुद्ध हतियार उठाउने, ज्यानको बाजी थापेर वञ्चितीकरणमा पारिएकाहरूलाई अधिकारसम्पन्न बनाउने पार्टी माओवादी नै हो । पिछडिएका र उत्पीडितहरूलाई मान्छे नठान्ने जनविरोधीहरूलाई नै आदिवासी, जनजाति, महिला, मुस्लिम, दलित, मधेसी आदि समुदायले समर्थन गर्ने र माओवादीलाई गाली गर्ने प्रवृत्तिको अन्त्य हुनु पर्छ । जसले आफ्नो अस्तित्व स्वीकार्दैन, उसैको पछि लाग्ने यो कस्तो निर्लज्जता हो ? उत्पीडितहरूले यति कुरा बुझ्न अपरिहार्य छ कि कांग्रेस, एमाले र राप्रपाजस्ता पार्टीहरू कहिल्यै पनि जनताको पक्षमा थिएनन् र अब पनि हुने छैनन् । इतिहासका विभिन्न गतिविधि र क्रियाकलापबाट यो कुरा पुष्टि भइसकेको छ । हरेक तप्काका उत्पीडितलाई प्रश्न गर्न चाहन्छु– के अझै पनि काम गर्ने कालु छाडेर मकै खाने भालुकै पछि लाग्ने ? सधैँभरि गुलियो मिसाइएको विषाक्त घोल पिइरहने ? मेरो आग्रह छ– आफू फस्ने खाडल आफैँ खन्ने काम आजैबाट रोकौँ । गणतन्त्र, धर्मनिरिपेक्षता, समावेशिता, समानुपातिक प्रतिनिधित्व, गणतन्त्र र संघीयताजस्ता अग्रगामी मुद्दा स्थापित गराउने माओवादीको समर्थन गरौँ । तर, पाखण्डी एमाले र कांग्रेसको पछि लाग्न छाडौँ ।
निष्कर्ष
नेपालमा संविधानसभामार्फत निर्मित संविधानमा लिपिबद्ध गरी संघीयता, गणतन्त्र, समानुपातिक प्रतिनिधित्व, समावेशिता, धर्मनिरपेक्षता, समानताजस्ता मुद्दा स्थापित गर्दै जनताका लागि उपलब्धि हासिल गराउने पार्टी माओवादीलाई नजरअन्दाज गर्नु भनेको फेरि पनि पश्चगामी विचारलाई घुमीफिरी बलियो बनाउनु हो । समय र विचारको पांग्रा सधैँ अगाडि जान्छ । यो नै इतिहासको विशेषता हो । माओवादी आन्दोलनमा देखिएका विचलनलाई खबरदारी गर्दै अग्रगामी विचारलाई संस्थागत गर्न पनि आगामी निर्वाचनहरूको बाटोबाट माओवादी केन्द्रलाई जनहितमा काम गर्ने अवसर दिनु बुद्धिमानी हुनेछ । बाघको छालामा स्यालको रजाइँ गर्ने परम्परा भत्काउँदै ‘जसको नीति उसको नेतृत्व’ पहिलो प्राथमिकतामा राख्नु पर्छ । यसबारे निर्णायक कदम चाल्न ढिलो गर्नु हुँदैन । बेलैमा वास्तविक बाघ र स्याल चिनेर अघि बढौँ । यसैमा भुइँमान्छेहरूको कल्याण हुनेछ ।